हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा



एजेन्सी,असार २२ । एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहासमै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

आइतबार न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न अन्तिम–१६ को खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको चौथो मिनेटमै प्याट्रिक बर्गले गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन। यता, ब्राजिलले पहिलो हाफमै पेनाल्टीमार्फत अग्रता लिने अवसर पाए पनि ब्रुनो गिमारेसको प्रहार नर्वेका गोलरक्षकले उत्कृष्ट बचाउ गरे।

खेलको ७९औँ मिनेटमा एन्ड्रियास स्केल्डेरुपको क्रसमा हालान्डले शक्तिशाली हेडमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसपछि ९०औँ मिनेटमा बक्सबाहिरबाट गरेको उनको आकर्षक प्रहार गोलमा परिणत भएपछि नर्वे २–० ले अघि बढ्यो। हालान्डका दुवै गोलमा स्केल्डेरुपले असिस्ट गरेका थिए।

यी दुई गोलसँगै हालान्ड जारी विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पेसँग बराबरीमा पुगेका छन्।

इन्जुरी समयको १०औँ मिनेटमा लियो ओस्टिगार्डले कासेमिरोलाई फाउल गरेपछि ब्राजिलले दोस्रो पेनाल्टी पाएको थियो। वैकल्पिक खेलाडी नेयमारले पेनाल्टीलाई गोलमा परिणत गरे पनि त्यो सान्त्वना गोलमै सीमित रह्यो।

यस हारसँगै ब्राजिल सन् १९९० यताकै पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्न असफल भएको छ। इतिहासमै पहिलो पटक अन्तिम आठमा पुगेको नर्वेले अब जुलाई ११ मा हुने क्वार्टरफाइनलमा इङ्ग्ल्यान्ड वा सह–आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्