चीन–उत्तर कोरिया सम्बन्ध थप सुदृढ बनाउने सी जिनपिङको प्रतिबद्धता



बेइजिङ,असार २२ । चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन, स्वस्थ र स्थिर विकासतर्फ अघि बढाउन चीन तयार रहेको बताउनुभएको छ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार गत महिना सी जिनपिङको प्योङयाङ भ्रमणपछि दुई नेताबीच सन्देश आदान–प्रदान भएको हो। भ्रमणका क्रममा कोरियाली प्रायद्वीपमा बढ्दो तनाव र उत्तर कोरियाको रुससँगको सैन्य सहकार्यका बीच द्विपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

जुलाई १ मा पठाइएको सन्देशमा राष्ट्रपति सीले चीनको कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा नेता किमले पठाएको बधाई सन्देशप्रति धन्यवाद व्यक्त गर्दै त्यसले उत्तर कोरियाली नेतृत्व र जनताको चीनप्रतिको गहिरो मित्रता झल्काएको उल्लेख गर्नुभएको छ।

सीले चिनियाँ कम्युनिस्ट पार्टी र कोरियन वर्कर्स पार्टी दुवै माक्र्सवादी सत्तारूढ दल भएको उल्लेख गर्दै दुई देशले राष्ट्रिय स्वतन्त्रता र समाजवादी लक्ष्यका लागि लामो समयदेखि सहकार्य गर्दै आएको बताउनुभयो। उहाँले दुवै पक्षबीच भएको साझा समझदारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै चीन–उत्तर कोरिया सम्बन्धलाई थप सुदृढ बनाइने स्पष्ट पार्नुभयो।

यसैबीच, किम जोङ उनले आफ्नो सन्देशमा प्योङयाङमा भएको शिखर भेटलाई ऐतिहासिक अवसरको संज्ञा दिँदै बेइजिङसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउने उत्तर कोरियाको अटल प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो।

उत्तर कोरियाले पछिल्लो समय रुससँग सुरक्षा तथा सैन्य सम्बन्ध विस्तार गरेको छ। युक्रेन युद्धमा सहयोगस्वरूप प्योङयाङले मस्कोलाई सैनिक र हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ। यद्यपि, आर्थिक रूपमा चीन नै उत्तर कोरियाको सबैभन्दा ठूलो साझेदार बनेको छ। दक्षिण कोरियाको अर्थतन्त्र तथा वित्त मन्त्रालयका अनुसार सन् २०२४ मा उत्तर कोरियाको कुल विदेशी व्यापारको करिब ९८ प्रतिशत हिस्सा चीनसँग भएको थियो।

प्रतिक्रिया दिनुहोस्