स्पेन–पोर्चुगल भिडन्त : विश्वकपको पहिलो महाशक्ति संघर्ष, रोनाल्डो र यमाल आमनेसामने



टेक्सास, असार २२ – फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनलमा सोमबार राति स्पेन र पोर्चुगल आमनेसामने हुँदैछन्। प्रतियोगितामा उपाधिका प्रमुख दाबेदार मानिएका यी दुई युरोपेली शक्तिबीचको यो भिडन्त विश्वकपकै अहिलेसम्मको सबैभन्दा आकर्षक खेलमध्ये एक मानिएको छ। यस खेलपछि एक टोलीको उपाधि यात्रा समाप्त हुनेछ भने विजेता टोली थप आत्मविश्वासका साथ क्वार्टरफाइनलमा प्रवेश गर्नेछ।

यो खेललाई दुई पुस्ताका स्टार खेलाडीबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ। एकातिर पोर्चुगलका अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डो छन् भने अर्कोतर्फ स्पेनका १८ वर्षीय उदाउँदा स्टार लामिने यमाल छन्। अनुभवी र युवा प्रतिभाबीचको यो भिडन्तले विश्वभरका फुटबल समर्थकको ध्यान तानेको छ।

स्पेनका लागि यो खेल गत वर्षको नेसन्स लिग फाइनलको हारको बदला लिने अवसर पनि हो। उक्त फाइनलमा निर्धारित र अतिरिक्त समय २–२ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पोर्चुगल विजयी हुँदै उपाधि जितेको थियो।

हेड–टु–हेड तथ्यांक भने स्पेनको पक्षमा देखिन्छ। दुई टोलीबीच भएका ४१ भेटमा स्पेन ३४ खेलमा अपराजित रहँदा पोर्चुगलले सात जित निकालेको छ। यस संस्करणमा पनि स्पेनले विशेषगरी रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गरेको छ। सन् २०२२ को कतार विश्वकपमा जापानसँग समूह चरणमा गोल खाएपछि स्पेनले विश्वकपमा फेरि गोल बेहोरेको छैन।

यद्यपि पोर्चुगललाई कमजोर आँक्न सकिने अवस्था छैन। भिटिन्हा, जोआओ नेभेस र ब्रुनो फर्नान्डेजको मिडफिल्ड तथा फुलब्याक नुनो मेन्डिस स्पेनका लागि चुनौती बन्न सक्छन्। मेन्डिसमाथि यमाललाई रोक्ने महत्वपूर्ण जिम्मेवारी पनि रहने अपेक्षा गरिएको छ।

समूह चरणमा केप भेर्डेसँग गोलरहित बराबरी खेलेर आलोचित बनेको स्पेन त्यसपछि लयमा फर्किएको छ। उसले साउदी अरेबियालाई ४–०, उरुग्वेलाई १–० र अन्तिम ३२ मा अस्ट्रियालाई ३–० ले पराजित गर्दै आफ्नो दाबेदारी बलियो बनाएको हो।

पोर्चुगलले भने मिश्रित प्रदर्शन गर्दै नकआउट चरणको यात्रा तय गरेको छ। पहिलो खेलमा कङ्गोसँग १–१ को बराबरी खेलेपछि उसले उज्बेकिस्तानलाई ५–० ले हराएको थियो। तर समूह चरणको अन्तिम खेलमा कोलम्बियासँग गोलरहित बराबरीमा रोकिँदै समूह उपविजेताका रूपमा अघि बढेको पोर्चुगलले अन्तिम ३२ मा क्रोएसियामाथि कठिन जित निकाल्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

४१ वर्षीय रोनाल्डोले यस विश्वकपमा तीन गोल गर्दै अझै पनि निर्णायक क्षणमा प्रभाव पार्न सक्ने क्षमता देखाइसकेका छन्। गत वर्ष नेसन्स लिग फाइनलमा पनि उनले स्पेनविरुद्ध गोल गरेका थिए भने सन् २०१८ को विश्वकपमा स्पेनविरुद्ध ह्याट्रिक पूरा गरेका थिए। उनी हाल आफ्नो करिअरका एक हजार गोल पूरा गर्ने अभियानमा छन्। विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिन सक्ने चर्चा पनि चलिरहेको छ।

स्पेनतर्फ सबैको नजर यमालमाथि भए पनि मिकेल ओयरजाबल उत्कृष्ट लयमा छन्। स्पेनका पछिल्ला १६ खेलमा उनी २३ गोलमा प्रत्यक्ष संलग्न भएका छन्। अन्तिम ३२ को खेलमा उनले दुई गोल गर्दै टोलीलाई सहज जित दिलाएका थिए। यस्तो अवस्थामा स्पेन र पोर्चुगलबीचको बहुप्रतीक्षित भिडन्त विश्वकपको सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्