इङ्ल्यान्ड १० खेलाडीमा सीमित हुँदै क्वार्टरफाइनलमा, अब नर्वेसँग भिड्ने



एजेन्सी, असार २२ गते । इङ्ल्यान्ड फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार बिहान मेक्सिकोको अज्टेका स्टेडियममा भएको रोमाञ्चक प्रि–क्वार्टरफाइनलमा १० खेलाडीमा सीमित इङ्ल्यान्डले घरेलु टोली मेक्सिकोलाई ३–२ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

इङ्ल्यान्डको जितमा जुड बेलिङहमले ३६औँ र ३८औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याउनुभयो। कप्तान ह्यारी केनले ६०औँ मिनेटमा पेनाल्टीमार्फत अर्को गोल थप्दै इङ्ल्यान्डको अग्रता बढाउनुभयो।

खेलको ५४औँ मिनेटमा जरेल क्वेनशाह रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इङ्ल्यान्ड १० खेलाडीमा सीमित भएको थियो।संख्यात्मक रूपमा पछि परे पनि इङ्ल्यान्डले अग्रता जोगाउँदै महत्वपूर्ण जित निकाल्न सफल भयो।

घरेलु टोली मेक्सिकोले भने बल पोसेसनमा राम्रो प्रदर्शन गर्दै लगातार दबाब सिर्जना गरेको थियो। मेक्सिकोका लागि जुलियन कुइनोनेसले ४२औँ मिनेटमा गोल गर्नुभयो भने राउल जिमिनेजले ६९औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गर्नुभयो। इङ्ल्यान्डका कप्तान केनले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि मेक्सिकोले पेनाल्टीको अवसर पाएको थियो।

खेलको अन्तिम समयसम्म मेक्सिकोले बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन सकेन र सहआयोजक टोलीको विश्वकप यात्रा अन्तिम १६ मै टुंगियो।

अब इङ्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा नर्वेको सामना गर्नेछ। नर्वेले सोमबार नै भएको अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्