पहिरोले नुवाकोटको गुर्जे–खोलागाउँ–चालिसे सडक पूर्ण अवरुद्ध, सात वडा प्रभावित
नुवाकोट, असार २२ – नुवाकोटको शिवपुरी गाउँपालिका–६ अन्तर्गत गुर्जे–खोलागाउँ–चालिसे मोटरबाटोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
स्थानीयका अनुसार सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन ठप्प भएको छ। शिवपुरी गाउँपालिका–६ का वडा अध्यक्ष विष्णु श्रेष्ठले पहिरोका कारण उक्त सडक पूर्ण रूपमा बन्द भएको जानकारी दिनुभयो।
उहाँका अनुसार यस सडकमार्फत आवतजावत गर्ने शिवपुरी गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ६ का बासिन्दासँगै पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकाका नागरिक पनि प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
सडक सञ्चालन हुन समय लाग्न सक्ने भएकाले सम्बन्धित निकायले पहिरो हटाउने तयारी गरिरहेको छ। यसबीच स्थानीयवासीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

