जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा ९ रनले पराजित
काठमाडौं,कात्तिक १६ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुरले महत्त्वपूर्ण २ अङ्क जोडेको हो ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो । योसँगै पोखराले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा ५ चौका प्रहार गरे । त्यस्तै विपिन आचार्यले २०, अविजित विपिन खत्रीले १७ र किरण ठगुन्नाले १५ रन जोडे । पोखराका प्रमुख खेलाडी शाकिब अल हसन भने ९ रनमै आउट भए ।
पोखराको ब्याटिङ ध्वस्त पार्ने क्रममा जनकपुरका मोइन अलीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ३ विकेट लिए । कप्तान हरमित सिंह र सैफ हसनले २–२ तथा ललित राजवंशी र जेम्स निसमले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । जनकपुरका लागि त्रित राज दासले सर्वाधिक ६१ रन बनाए । उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै अभिषेक तिवारीले १० बलमा अविजित २४ तथा मोइन अलीले २१ रनको योगदान दिए । पोखराका शाकिब अल हसनले १५ रन खर्चेर ३ विकेट लिए भने चमिका करुणारत्नेले २ विकेट हात पारे ।
यो जितसँगै ३ खेल खेलेको जनकपुरले २ जितसहित ४ अङ्क जोडेको छ । दुई खेल खेलेको पोखरा भने अङ्कविहीन रहेको छ ।

