इन्जुरी समयमा मेरिनोको गोल, रोनाल्डोको अन्तिम विश्वकप यात्रा स्पेनले गरायो समाप्त
एजेन्सी,असार २३— वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
डलासमा सम्पन्न अन्तिम–१६ को बहुप्रतीक्षित प्रतिस्पर्धामा स्पेनले कप्तान क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगललाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
खेलभरि गोलका स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गरेको स्पेनका लागि इन्जुरी समयको पहिलो मिनेटमा मेरिनो नायक बने। फेरान टोरेसको पासलाई सदुपयोग गर्दै आर्सनलका मिडफिल्डर मेरिनोले गोलरक्षक डियोगो कोस्टालाई झुक्याएर विजयी गोल गरेका थिए।
यो नतिजाले सन् २०१० को विश्वकप अन्तिम–१६ मा स्पेनले पोर्चुगललाई हराएको इतिहासको पुनरावृत्ति गरेको छ। अब स्पेनले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा सह–आयोजक संयुक्त राज्य अमेरिका वा बेल्जियममध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
यता, पोर्चुगलको हारसँगै ४१ वर्षीय सुपरस्टार क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि समाप्त भएको छ। रोनाल्डोले यसअघि नै सन् २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए।

