सात दशकपछि स्विट्जरल्यान्ड विश्वकपको क्वाटरफाइनलमा, अब अर्जेन्टिनासँग भिडन्त



एजेन्सी,असार २४ । रुबेन भार्गासले निर्णायक पेनाल्टी गोल गरेपछि स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान बनाएको छ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। निर्णायक पेनाल्टीमा भार्गासले सहज गोल गरेपछि स्विट्जरल्यान्डले सात दशकभन्दा लामो प्रतीक्षापछि पहिलो पटक विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो।

सुटआउटमा कोलम्बियाका डाभिन्सन सान्चेजको प्रहार क्रसबारमा लागेको थियो भने कुचो हर्नान्डेजको पेनाल्टी स्विस गोलकिपर ग्रेगर कोबेलले रोकेका थिए, जसले स्विट्जरल्यान्डको जित सुनिश्चित गर्‍यो।

खेलअघि नै स्विट्जरल्यान्डलाई उदीयमान खेलाडी जोहान मान्जाम्बी घुँडाको चोटका कारण टोलीबाहिर रहँदा ठूलो झट्का लागेको थियो। पहिलो हाफमा कोलम्बियाले खेलमा पकड बनाए पनि स्पष्ट गोल गर्ने अवसर सदुपयोग गर्न सकेन। गुस्ताभो पुर्टाको शक्तिशाली प्रहारलाई कोबेलले उत्कृष्ट बचाउ गरेका थिए।

दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्ने अवसर गुमाए। कोलम्बियाका लुइस सुआरेजले राम्रो अवसर खेर फाले भने स्विट्जरल्यान्डका फाबियन रिडरको भली प्रहार गोलकिपर कामिलो भार्गासले बचाए।

अतिरिक्त समयमा पनि दुवै टोलीले निर्णायक गोल गर्न सकेनन्।कोलम्बियाका झोन लुकुमीको हेडर क्रसबारमा लाग्दा स्विट्जरल्यान्डका वैकल्पिक खेलाडी जेकी आमडौनीको प्रहार पनि कामिलो भार्गासले रोके।

अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डले लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। साविक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो।

यससँगै विश्वकप क्वाटरफाइनलको समीकरण पूरा भएको छ। अब फ्रान्स र कोलम्बिया, स्पेन र बेल्जियम तथा इङ्ल्यान्ड र नर्वेबीच पनि क्वाटरफाइनल खेल हुनेछन्।

प्रतिक्रिया दिनुहोस्