दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा



एजेन्सी,असार २४ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। एटलान्टा स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल गर्दै सनसनीपूर्ण जित निकालेको हो।

यो जितसँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब उसले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इजिप्टले १५ औँ मिनेटमा यासेर इब्राहिमको हेडरमार्फत अप्रत्याशित अग्रता लिएको थियो। त्यसपछि गोलरक्षक मोस्तफा शोबिरले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाका लगातार आक्रमण विफल पारे। उनले लियोनेल मेस्सीको पेनाल्टी बचाउनुका साथै एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजका प्रहार पनि रोके।

५९ औँ मिनेटमा मोहम्मद सलाहको पासमा जिजोले गरेको गोल निर्माणक्रममा फाउल भएको भन्दै अस्वीकृत भयो। तर त्यसको केही समयपछि इजिप्टले पुनः काउन्टर आक्रमणमार्फत गोल गर्दै ६७ औँ मिनेटमा जिजोको गोलबाट २–० को बलियो अग्रता बनायो। दुई गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछि खेलमा प्रभावशाली पुनरागमन गर्‍यो। ७९ औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए भने ८४ औँ मिनेटमा कप्तान मेस्सीले उत्कृष्ट फिनिसिङमार्फत खेल २–२ को बराबरीमा ल्याए। जारी विश्वकपमा मेस्सीको यो आठौँ तथा विश्वकप करियरको २१औँ गोल हो।

इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले ३–२ को ऐतिहासिक जित दर्ता गर्दै उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको हो।

प्रतिक्रिया दिनुहोस्