आज देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी



काठमाडौँ,असार २४– देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ।

महाशाखाका अनुसार बुधबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थान, मधेश प्रदेश तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ भने मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हुरीबतास चल्ने सम्भावना पनि रहेको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहने पूर्वानुमान गरिएको छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन, नदी–नाला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन तथा विभागका पछिल्ला मौसम सूचनाहरू नियमित रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्