एआईको विस्तारसँगै अमूर्त सम्पत्तिमा विश्वव्यापी लगानी नयाँ कीर्तिमानमा
जेनेभा, असार २४ — कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर, डाटा, अनुसन्धान तथा विकासलगायत अमूर्त सम्पत्तिमा विश्वव्यापी लगानी एक हजार खर्ब अमेरिकी डलर नाघेको संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुआइपिओ) ले जनाएको छ।
डब्लुआइपिओको प्रतिवेदनअनुसार सन् २००८ यता अमूर्त लगानी वार्षिक औसत ३.५ प्रतिशतले बढेको छ भने भौतिक सम्पत्तिमा लगानीको वृद्धि ०.९८ प्रतिशतमा सीमित रहेको छ। प्रतिवेदनले एआईलाई यस परिवर्तनको प्रमुख चालकका रूपमा उल्लेख गरेको छ।
संयुक्त राज्य अमेरिका अमूर्त लगानीमा पहिलो, जापान दोस्रो र जर्मनी तेस्रो स्थानमा छन्। जिडिपीको अनुपातमा भने स्विडेन अग्रस्थानमा रहेको छ। वृद्धि दरका हिसाबले भारत, जापान र फिलिपिन्स अगाडि रहेका छन्।
प्रतिवेदनले उच्च ब्याजदर र आर्थिक सुस्तताका बीच पनि अमूर्त लगानी भौतिक लगानीभन्दा बढी लचिलो रहेको तथा आगामी दिनमा सफ्टवेयर, डाटा र अनुसन्धान क्षेत्रमा लगानी अझ बढ्ने जनाएको छ।

