रेफ्रीमाथि इजिप्टको गम्भीर आरोप, फिफासमक्ष औपचारिक उजुरी
एजेन्सी,असार २५ । विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि इजिप्ट फुटबल संघ (इएफए) ले खेल सञ्चालनमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) समक्ष औपचारिक उजुरी दर्ता गरेको छ।
इएफएका अध्यक्ष हानी अबु रिदाले खेलका फ्रान्सेली रेफ्री फ्राँस्वा लेटेक्सिएर र भिडियो सहायक रेफ्री (भिएआर) टोलीविरुद्ध अनुसन्धान गर्न माग गर्दै उनीहरूलाई प्रतियोगिताबाट हटाउन आग्रह गरेका छन्।इएफएले रेफ्री टोलीले खेलभर दोहोरो मापदण्ड अपनाएको र त्यसकै कारण इजिप्ट विश्वकपबाट बाहिरिनुपरेको दाबी गरेको छ।
इजिप्टका अनुसार दोस्रो हाफमा मोस्तफा जिकोले गरेको गोल भिएआरको सिफारिसपछि रद्द गरिएको थियो। आक्रमणको सुरुवातमा मारवान अटियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजमाथि फाउल गरेको निष्कर्ष निकालिएको थियो। साथै, इन्जुरी समयमा मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रमा भएको भनिएको फाउलको घटनामा भिएआरले समीक्षा नगरेको भन्दै पनि इएफएले आपत्ति जनाएको छ।
संघले जारी गरेको विज्ञप्तिमा रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको, केही महत्वपूर्ण दृश्यहरूको समीक्षा गर्न अस्वीकार गरिएको तथा इजिप्टविरुद्ध पक्षपातपूर्ण व्यवहार गरिएको आरोप लगाइएको छ।
खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले पनि आफ्नो टोलीमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन्। उनले विश्व च्याम्पियन अर्जेन्टिनालाई प्रतियोगितामा कायम राख्ने उद्देश्यले निर्णय प्रभावित भएको हुन सक्ने टिप्पणी गरेका छन्। फरवार्ड मोस्तफा जिकोले समेत रेफ्रीको निर्णयको कडा आलोचना गर्दै खेल मिलाइएको जस्तो अनुभूति भएको बताएका छन्।
यता, अर्जेन्टिनाले भने क्वार्टरफाइनलमा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

