नुवाकोटका दुई विद्यालयलाई लुम्बिनी विकास बैंकद्वारा शैक्षिक सहयोग
नुवाकोट, असार २५ — लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नुवाकोटका दुई विद्यालयलाई शैक्षिक सहयोग उपलब्ध गराएको छ।
बैंकको ढिकुरे शाखाले लिखु गाउँपालिका–१ स्थित नारायणदेवी माध्यमिक विद्यालयलाई एक थान प्रिन्टर हस्तान्तरण गरेको छ।विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप सहज र प्रभावकारी बनाउन प्रिन्टर प्रदान गरिएको शाखा प्रमुख सूर्यकुमार पण्डितले जानकारी दिए।
त्यसैगरी, बैंकको बट्टार शाखाले विदुर नगरपालिका–९ स्थित सुलक्षणा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ईसीडी कक्षादेखि कक्षा १० सम्म अध्ययनरत १०१ जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको शाखा प्रबन्धक अजय आचार्यले बताए।
आचार्यका अनुसार शिक्षा क्षेत्रमा सहयोग पुर्याउने, विद्यार्थीमा अध्ययनप्रति उत्साह बढाउने तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
शैक्षिक सामग्री वितरण कार्यक्रममा विदुर नगरपालिका–९ का वडा अध्यक्ष हरिराम भण्डारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय समाजसेवी, अभिभावक तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो।
शाखा प्रबन्धक आचार्यले आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय प्रशासन तथा स्थानीय समुदायले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको मनोबल वृद्धि गर्नुका साथै शिक्षाको गुणस्तर सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

