एकताको पहल नभए राष्ट्रिय भेलाको मिति तत्काल घोषणा गर्नुपर्छ : डा. महत



काठमाडौं,असार २५ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको संस्थापन पक्षबाट एकताका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संस्थापन इतर समूहले अब राष्ट्रिय भेलाको मिति तत्काल घोषणा गर्नुपर्ने बताएका छन्।

बुधबार चुनदेवीमा जारी संस्थापन इतर समूहको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको अन्योल लामो समयसम्म कायम राख्न नहुने उल्लेख गर्दै आजै राष्ट्रिय भेलाको मिति तय गरी भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न आग्रह गरे।

महतले पार्टीभरका नेता–कार्यकर्ताको अपेक्षा पनि यही रहेको उल्लेख गर्दै अर्को बाटो रोज्नुपर्ने अवस्था आउनु सुखद नभएको बताए। उनले पार्टीभित्र सहमति कायम गर्न सभापति गगन थापासँग पटक–पटक संवादको प्रयास गरेको दाबी गर्दै १५औँ महाधिवेशन निष्पक्ष बनाउन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने संयन्त्र गठनको प्रस्ताव राखे पनि संस्थापन पक्षले स्वीकार नगरेको बताए।

गगन थापासँग भएको संवाद स्मरण गर्दै महतले आफूले फोन, ह्वाट्सएप र सन्देशमार्फत सम्पर्क गर्दा पनि कुनै ठोस प्रतिक्रिया नपाएको बताए। पछि एक कार्यक्रममा भेट हुँदा सामान्य प्रतिक्रिया मात्रै आएको उनको भनाइ थियो।

महतले साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने तथा साउन २५ भित्र राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गर्नुपर्ने प्रस्ताव पनि बैठकमा राखेका छन्।

संस्थापन पक्षबाट सहमतिका लागि कुनै ठोस संकेत नआएकाले अब संस्थापन इतर समूहले समयमै स्पष्ट र कडा राजनीतिक निर्णय लिनुपर्ने अवस्था आएको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्