दक्षिणी चीनमा विनाशकारी बाढी : मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो, नौ जना बेपत्ता



चीन,असार २५ । दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ भने नौ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

यस सातादेखि दक्षिणी र मध्य चीनमा परेको अविरल वर्षासँगै आएको बाढीले व्यापक क्षति पुर्‍याएको छ। गुआङ्सी क्षेत्रमा लिउलन जलाशयको बाँध भत्किँदा आएको भीषण बाढीका कारण मात्रै २६ जनाको मृत्यु भएको र सात जना बेपत्ता रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

पूर्वी चीनतर्फ ‘बावी’ नाम दिइएको आँधी अघि बढिरहेका बेला प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। बाढीका कारण फसेका नागरिकसम्म खाना र अत्यावश्यक सामग्री पुर्‍याउन ठूलो ड्रोनसमेत परिचालन गरिएको छ।

सरकारी टेलिभिजनले सार्वजनिक गरेको दृश्यमा जलाशयको भत्किएको कङ्क्रिट पर्खालबाट तीव्र गतिमा पानी बगिरहेको देखिएको छ भने उद्धारकर्मी डुङ्गामार्फत प्रभावित क्षेत्रमा खटिएका छन्।

बाढीपछि स्थानीय बासिन्दा आफ्ना ध्वस्त घर सफा गर्न जुटेका छन्।कतिपयले क्षतिग्रस्त घरभित्र रहेका सामग्री निकाल्न उत्खनन उपकरणको समेत प्रयोग गरिरहेका छन्। अधिकारीहरूले बेपत्ता व्यक्तिको खोजी तथा राहत कार्य जारी रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्