सरकारको सय दिनमै लोकतन्त्र संकटमा परेको ओलीको आरोप



काठमाडौँ, असार २५ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिने कार्यकालले लोकतन्त्र, सुशासन र वामपन्थी आन्दोलनलाई गम्भीर क्षति पुर्‍याएको आरोप लगाएका छन्।

बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको कार्यशैली लोकतन्त्रविरोधी र फासीवादी प्रवृत्तितर्फ उन्मुख रहेको दाबी गरे। उनले सुकुमवासी बस्तीमा डोजर चलाएर सर्वसाधारणलाई सास्ती दिइएको र बालबालिकासमेत प्रभावित भएको भन्दै सरकारको आलोचना गरे।

सरकारको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै ओलीले वर्तमान अवस्थालाई ‘उम्लिएको दूध’सँग तुलना गरे। उनले अहिलेको सरकार टिकाउ नभएको संकेत गर्दै यसका “खुट्टा भुइँमा नरहेको” टिप्पणी गरे।

मन्त्रीहरूमा उत्तरदायित्वको अभाव रहेको आरोप लगाउँदै ओलीले बजेटमा आकर्षक घोषणा भए पनि कार्यान्वयनमा कुनै उपलब्धि नदेखिएको बताए। दैलेखको ग्यास उद्योगको व्यावसायिक उत्खनन र प्रशोधन प्रक्रिया अघि नबढाउँदा मुलुकले दैनिक अर्बौँ रुपैयाँ बराबरको सम्भावित आम्दानी गुमाइरहेको उनको दाबी थियो।

‘अहिले मुलुकमा खुसी हुने कुनै ठाउँ छैन। अहिलेको सरकार दूध उम्लिएको अवस्था जस्तै छ, यो पोखिन्छ। यसका खुट्टा भुइँमा छैनन्। हामीले शिलान्यास गरेका काम उद्घाटन गर्न पनि यो सरकारलाई अप्ठ्यारो छ,’ ओलीले भने।

देशको समग्र अवस्था निराशाजनक रहेको उल्लेख गर्दै उनले सरकारमा कर्तव्यबोधको अभाव रहेको र वर्तमान नेतृत्वले मुलुकलाई सही दिशामा लैजान नसक्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्