एम्बाप्पेको गोल र असिस्टमा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा
एजेन्सी,असार २६ । कप्तान केलियन एम्बाप्पेले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई मोरोक्कोविरुद्ध २–० को जित दिलाएका छन्। यससँगै दुई पटकको विश्व च्याम्पियन फ्रान्स लगातार तेस्रो पटक फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बोस्टन स्टेडियममा भएको क्वार्टरफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको सुरुआतमै फ्रान्सले बलमा नियन्त्रण राख्दै दबाब बनाए पनि गोल गर्न सकेन। पाँचौँ मिनेटमा डायोट उपामेकानोको हेडर मोरोक्कोका गोलरक्षक यासिन बोनोले बचाएका थिए।
पहिलो हाफमै नुसैर माजराउईले एम्बाप्पेलाई पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। तर एम्बाप्पेको प्रहार बोनोले उत्कृष्ट बचाउ गरेपछि खेल गोलरहित अवस्थामा विश्राममा पुगेको थियो।
दोस्रो हाफमा भने एम्बाप्पेले आफ्नो गल्ती सच्याए। खेलको ६०औँ मिनेटमा उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको आकर्षक कर्लिङ प्रहार गोलमा परिणत हुँदै फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि एम्बाप्पेको पासमा उस्मान डेम्बेलेले सहज गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।
एम्बाप्पेले प्रतियोगितामा आफ्नो आठौँ गोल गर्दै गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीसँग बराबरी गरेका छन्। तर बढी असिस्ट गरेका कारण उनी शीर्ष स्थानमा छन्।
यो जितसँगै प्रशिक्षक डिडिएर देसाँको टोली लगातार तेस्रो विश्वकप सेमिफाइनलमा पुगेको छ। फ्रान्सले सन् २०१८ मा विश्वकप उपाधि जितेको थियो भने २०२२ मा अर्जेन्टिनासँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। अब फ्रान्सले सेमिफाइनलमा बेल्जियम र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
एम्बाप्पे यस विश्वकपमा फ्रान्सका सबै ६ खेलमा गोल गर्न सफल भएका छन्। विश्वकप इतिहासमा लियोनेल मेस्सीपछि सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत उनी बनेका छन्। उनको विश्वकप गोल संख्या २० पुगेको छ। उत्कृष्ट प्रदर्शनका लागि एम्बाप्पे यस खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।

