अन्तिम समयमा मेरिनो चम्किए, स्पेन सेमिफाइनलमा
काठमाडौँ,असार २७ । मिकेल मेरिनोले फेरि एकपटक अन्तिम समयमा निर्णायक गोल गर्दै स्पेनलाई फिफा विश्वकपको सेमिफाइनलमा पुर्याएका छन्। क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेनले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
लस एन्जलसमा भएको प्रतिस्पर्धात्मक खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मेरिनोले ८८औँ मिनेटमा विजयी गोल गरे।बेल्जियमका पहिलो रोजाइका गोलरक्षक थिबाउट कोर्टुवा चोटका कारण मैदानबाट बाहिरिएपछि आएका सेन्ने लामेन्सले पाउ कुबार्सीको टाढाबाट आएको प्रहार रोके पनि बल नियन्त्रणमा लिन सकेनन्। त्यसपछि आएको रिबाउन्डलाई मेरिनोले जाली चुमाउँदै स्पेनलाई जित दिलाए।
यसअघि स्पेनका फाबियन रुइजले ३०औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा चार्ल्स डे केटेलाएरले हेडमार्फत गोल गर्दै बेल्जियमलाई १–१ को बराबरीमा फर्काएका थिए। जारी विश्वकपमा स्पेनले खाएको यो पहिलो गोल पनि हो।
अन्तिम १६ मा पोर्चुगलविरुद्ध इन्जुरी समयमा विजयी गोल गरेका मेरिनोले यसपटक पनि निर्णायक क्षणमा गोल गर्दै टोलीका नायक बने।यो जितसँगै प्रशिक्षक लुइस डे ला फुएन्तेको नेतृत्वमा रहेको स्पेनले अब जुलाई १४ मा डलासमा हुने सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ।

