नुवाकोटमा विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगायो, एक बालिकाको मृत्यु, अर्की घाइते



नुवाकोट,असार २८— नुवाकोटको ककनी गाउँपालिका–६ पैतिस किलोस्थित देउराली खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने अर्की बालिका घाइते भएकी छन्।

आइतबार दिउँसो करिब ३:१५ बजे विद्यालयबाट घर फर्किने क्रममा स्थानीय रविन्द्र तामाङकी ११ वर्षीया छोरी सोनु तामाङ र ८ वर्षीया छोयताङ तामाङ देउराली खोला तर्ने क्रममा बगेका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ककनीबाट प्रहरी निरीक्षक रविनकुमार गुप्ताको नेतृत्वमा ६ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा घटनास्थलबाट करिब ३०० मिटर तल खोलाबाट दुवै बालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

उद्धारपछि ८ वर्षीया छोयताङ तामाङलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो। ११ वर्षीया सोनु तामाङ भने सामान्य घाइते भएकी छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

मृतक बालिकाको शव घटनास्थलमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्