११ महिनामै २१ खर्ब २० अर्बभन्दा बढी विप्रेषण भित्रियो
काठमाडौं,असार ३० — चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल रु २१ खर्ब २० अर्ब ८० करोड बराबरको विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.२ प्रतिशत बढी हो।
सोमबार सार्वजनिक गरिएको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ अनुसार जेठ महिनामा मात्रै रु दुई खर्ब तीन अर्ब ८९ करोड विप्रेषण नेपाल भित्रिएको छ। गत आर्थिक वर्षको जेठमा भने रु एक खर्ब ७६ अर्ब ३२ करोड मात्रै विप्रेषण आएको थियो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा १४ अर्ब ५९ करोड अमेरिकी डलर बराबरको विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २९.६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण वृद्धि १२.८ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकले विप्रेषणमा भएको यो उच्च वृद्धिले देशको बाह्य क्षेत्र तथा विदेशी मुद्रा सञ्चितिमा सकारात्मक योगदान पुगेको जनाएको छ।

