त्रिशूली पुलबाट नदीमा हामफालेका व्यक्ति बेपत्ता, खोजी कार्य जारी
नुवाकोट, असार ३२ — नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली पुलबाट एक पुरुषले नदीमा हामफालेपछि बेपत्ता भएका छन्।
आज दिउँसो करिब १ः१० बजे विदुर नगरपालिका–१० गेर्खु निवासी करिब ३५ वर्षीय श्याम बहादुर मगरातीले त्रिशूली पुलबाट त्रिशूली नदीमा हामफालेको सूचना प्राप्त भएपछि तत्काल प्रहरी परिचालन गरिएको हो।
सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट विदुर र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले घटनास्थल पुगेर बेपत्ता व्यक्तिको खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी दिउँसो करिब २ बजे सशस्त्र प्रहरी बल नम्बर १९ गुल्म मुख्यालय नुवाकोटबाट सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा थप उद्धार टोली घटनास्थलतर्फ खटिएको छ।
हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नदीमा बेपत्ता भएका मगरातीको खोजी कार्य जारी राखेको छ।

