सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समितिमा दुई सदस्य मनोनीत
काठमाडौँ,असार ३२। सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समितिमा उर्वशी बस्न्यात र शोभिता रिसाल सदस्यका रूपमा मनोनीत हुनुभएको छ ।
सूचना तथा सञ्चार मन्त्रीस्तरको आजको निर्णयअनुसार उहाँहरूलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको हो। सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ अनुसार सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेसम्म मन्त्रालयले तोकेको सदस्यले बैठकको अध्यक्षता गर्न सक्ने व्यवस्था भएकाले उर्वशी बस्न्यातलाई अध्यक्ष नियुक्ति नभएसम्म बैठकको अध्यक्षता गर्ने जिम्मेवारीसमेत दिइएको छ।
मनोनयनपत्र प्रदान गर्दै सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले रेडियो नेपाल र नेपाल टेलिभिजनले नेपालको सञ्चार क्षेत्रको विकासमा ऐतिहासिक योगदान दिएको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण नेपालले ती संस्थाहरूको गौरवपूर्ण इतिहासलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो।
उहाँले संविधान, प्रचलित ऐन तथा कानुनले दिएको जिम्मेवारीअनुसार निष्पक्ष, उत्तरदायी र जनहितमुखी ढङ्गले काम गर्न सञ्चालक समितिलाई निर्देशन दिनुभयो। राज्यका संस्थाले आफ्नो संवैधानिक तथा कानुनी दायित्व इमान्दारीपूर्वक निर्वाह गरे मात्र राज्य प्रणाली थप सुदृढ बन्ने उहाँको भनाइ थियो।
मन्त्री डा. तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण नेपालका पदाधिकारीलाई देश र नागरिकको हितलाई केन्द्रमा राखेर निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै विगतमा गौरवशाली इतिहास बोकेका सञ्चार संस्थाहरू विभिन्न कारणले कमजोर अवस्थामा पुगेकाले तिनलाई पुनः सक्षम, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक सुधारका कार्यक्रम तत्काल अघि बढाउन निर्देशन दिनुभयो।

