संवाद असफल भएपछि काँग्रेस इतर पक्ष राष्ट्रिय भेला गर्ने तयारीमा
काठमाडौँ, साउन ३ — नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्षसँग भइरहेका संवाद निष्कर्षमा पुग्न नसकेपछि संस्थापन इतर पक्षले नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ।
आइतबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षका नेता मीन विश्वकर्माले पार्टीभित्र एकता कायम गर्ने उद्देश्यले पटक–पटक छलफल भए पनि नेतृत्व तहबाट आवश्यक लचकता, धैर्यता र सकारात्मक पहल नदेखिएकाले सहमति जुट्न नसकेको बताए।उनले संवादहीनताको अवस्था लम्बिँदै जाँदा अब केवल प्रतीक्षा गरेर नबस्ने र नयाँ ढङ्गले अघि बढ्ने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार यही उद्देश्यका साथ इतर पक्षले राष्ट्रिय भेला आयोजना गर्ने तयारी थालेको हो।
विश्वकर्माले हालसम्म भएका वार्ता उपलब्धिमूलक हुन नसकेको भन्दै पार्टी एकताको सम्भावना कमजोर बन्दै गएको निष्कर्षमा आफूहरू पुगेको बताए। उनले अब आफ्ना एजेन्डालाई थप प्रभावकारी रूपमा अघि बढाइने स्पष्ट पारे।
इतर पक्षले आगामी साउन ६ गते पर्ने वीपी स्मृति दिवस विगतझैँ निरन्तर रूपमा मनाउने निर्णय पनि गरेको जनाएको छ। हाल सम्पर्क कार्यालयमार्फत आफ्ना गतिविधि सञ्चालन गरिरहेको समूहले त्यसलाई निरन्तरता दिँदै संगठनात्मक गतिविधि थप सशक्त बनाउने जनाएको छ।
उनले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट एकताको पक्षमा आवश्यक लचकता र सकारात्मक पहल नदेखिएकै कारण एकताको प्रक्रिया कमजोर बनेको दाबी गरे।

