मध्यपूर्वमा जारी युद्ध तत्काल रोक्न राष्ट्रसङ्घका महासचिव गुटेरेसको आग्रह



काठमाडौं,साउन १६ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वका विभिन्न क्षेत्रमा जारी युद्ध तत्काल रोक्नुपर्ने बताउनुभएको छ।

उहाँले युद्ध अन्त्य गरी दिगो शान्ति स्थापना गर्नुपर्ने तथा होर्मुज र बाब अल–मन्डब जलमार्गमा र आसपास अन्तर्राष्ट्रिय आवागमनका अधिकार र स्वतन्त्रता पूर्णरूपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ। कूटनीतिक उपाय नै द्वन्द्व समाधानको विश्वासिलो माध्यम हुनुपर्ने उहाँको भनाइ छ।

खाडी क्षेत्रमा सैन्य तनाव बढेको छ महिना भइसकेको उल्लेख गर्दै गुटेरेसले क्षेत्रीय द्वन्द्वका रूपमा सुरु भएको युद्ध अहिले विश्वव्यापी अस्थिरताको प्रमुख कारण बन्दै गएको चेतावनी दिनुभएको छ।उहाँका अनुसार होर्मुज जलमार्गबाट हुने व्यापार प्रभावित हुँदा ऊर्जा बजारमा मूल्यवृद्धि भएको, खाद्यान्न तथा मलको मूल्य बढेको र आपूर्ति शृङ्खलामा अवरोध आएको छ। द्वन्द्वका कारण खाद्यान्नलगायत आधारभूत सामग्री आयातमा निर्भर कमजोर देशहरू थप संकटमा परेको उहाँले बताउनुभएको छ।

विश्व खाद्य कार्यक्रमले द्वन्द्वको परिणामस्वरूप करिब ४५ करोड मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको चेतावनी दिएको उल्लेख गर्दै गुटेरेसले बढ्दो मूल्यवृद्धिले लाखौँ मानिसलाई पुनः गरिबीतर्फ धकेल्ने जोखिम रहेको बताउनुभएको छ।

गुटेरेसले हमासलाई हतियार त्याग्न र इजरायललाई गाजाबाट सेना फिर्ता गर्नेसम्बन्धी अमेरिकी घोषणालाई स्वागतयोग्य कदमका रूपमा लिनुभएको छ। यसका उद्देश्य कार्यान्वयनका लागि स्पष्ट आधार पहिले नै तय भइसकेको उल्लेख गर्दै उहाँले दुवै पक्षले कुनै शङ्का वा सम्झौता कमजोर पार्ने प्रयास नगरी सहमति कार्यान्वयन गर्ने समय आएको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्