एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै, साँझ ५ बजे खेल हुने



काठमाडौं,कात्तिक १५ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छन् ।

जनकपुर बोल्ट्सको टोलीमा कप्तान हरमित सिंहसहित इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली र अनिलकुमार साह रहेका छन् । त्यस्तै, ललितनारायण राजवंशी, रित गौतम र आशुतोष पाण्डे पनि टोलीमा छन् ।

यता पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन् । पोखराको टोलीमा शाकिब अल हसन, महेदी हसन, चमिका करुणारत्ने, धनञ्जय लक्षान, सागर ढकाल, अर्जुन घर्ती र अर्जुन कुमाल रहेका छन् ।

यसैबीच, शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । त्यसअघि विराटनगरले दुई विकेट गुमाएर १०५ रन बनाएको थियो ।

शनिबार नै चितवन राइनोज र लुम्बिनी लायन्सबीच हुने भनिएको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्