वर्षाका कारण काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडक अवरुद्ध



काठमाडौं, कात्तिक १५ । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ ।

ललितपुर महानगरपालिका–२ सुन्दरीघाटस्थित बागमती खोला करिडोरको सडकमा वर्षाका कारण जलसतह बढेपछि आवागमन बन्द भएको छ ।

यसैगरी, ललितपुरकै बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण सडकमा लेदो र पहिरो खस्ने क्रम जारी रहेकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्