देशका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ



काठमाडौं, कात्तिक १५ । प्रहरीले नियमित गस्तीका क्रममा देशका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। शुक्रबार र शनिबार गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंका दुई स्थानबाट तीन जना, झापा र सुनसरीका एक–एक स्थानबाट दुई–दुई जना, पर्सा, लमजुङ र बर्दियाबाट एक–एक जना तथा कैलालीका दुई स्थानबाट तीन जना पक्राउ परेका छन्।

काठमाडौंको चुच्चेपाटीबाट सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३९ वर्षीय छिरीङ शेर्पालाई चार ग्राम २५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ र २० हजार २०० रुपैयाँसहित पक्राउ गरिएको छ। त्यस्तै, काठमाडौंको जडिबुटीबाट छ ग्राम ७४० मिलिग्राम उक्त पदार्थसहित दुई जना पक्राउ परेका छन्।

झापाको खयरबारीबाट एक ग्राम ९५ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २४ वर्षीय खड्ग राजवंशी र २५ वर्षीय चैतन हेमरम पक्राउ परेका छन्। पर्साको वीरगञ्ज बसपार्कबाट डाइजेपाम २७, फेनारगन २९ र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङको ज्वालामुखी गाउँपालिका–२ का २० वर्षीय निमा लामा शेर्पा पक्राउ परेका छन्।

कैलालीको धनगढीस्थित चटकपुरको एक होटलबाट १२७ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित डोटीका २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन्। भजनी नगरपालिका–३ कुसुमघाटबाट एक ग्राम ५० मिलिग्राम उक्त पदार्थसहित दुई जना पक्राउ परेका छन्। उनीहरूमध्ये रोशन सार्कीले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

लमजुङको बेँसीसहर नगरपालिका–१ देउरालीडाँडाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०–१० एम्पुलसहित ३० वर्षीय सुजन तामाङ पक्राउ परेका छन्। सुनसरीको कोशी गाउँपालिका–१ लौकही केराबारीबाट दुई ग्राम १७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दीपक परियार र बलबहादुर थापा पक्राउ परेका छन्।

त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट दुई ग्राम ७१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको कोहलपुर नगरपालिका–९ का २१ वर्षीय सुशील परियार पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट लागुऔषधका अतिरिक्त चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, नगद र मोटरसाइकलसमेत बरामद भएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्