ब्रोड पिक दुर्घटनाले शोकमा नेपाल, निम्स दाइको साहस इतिहासमा अमर रहने
काठमाडौँ, साउन १७ — पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ।
विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित पुर्जाको असामयिक निधनले नेपालसँगै अन्तर्राष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन क्षेत्र र उहाँका लाखौँ समर्थकलाई स्तब्ध बनाएको छ। देशका प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेता, पर्यटन क्षेत्रका अगुवा, पर्वतारोही तथा विदेशी शुभेच्छुकले पुर्जाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको साहस, समर्पण र नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा पुर्याएको योगदानको प्रशंसा गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मल पुर्जासहित दिवङ्गत सबै आरोहीको भौतिक यात्रा समाप्त भए पनि उनीहरूको साहस, समर्पण र योगदान इतिहासमा सधैँ प्रेरणाको स्रोतका रूपमा जीवित रहने बताउनुभएको छ। उहाँले हिमाल आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको अभिव्यक्ति भएको उल्लेख गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुर्जासँगको व्यक्तिगत सम्बन्ध स्मरण गर्दै भावुक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उहाँले पुर्जाको अनुपस्थितिले मन भारी भएको उल्लेख गर्दै उहाँको अदम्य साहस सम्झनाका रूपमा अनन्तसम्म बाँचिरहने बताउनुभएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि पुर्जा कठिन परिस्थितिबाट समेत फर्किन सक्ने व्यक्तित्व भएकाले अन्तिम क्षणसम्म आफू आशावादी रहेको उल्लेख गर्नुभएको छ। उहाँले ‘प्रोजेक्ट पसिबल’ सुरु हुनुअघि नै पुर्जासँग भेट भएको स्मरण गर्दै उहाँभित्रको आत्मविश्वास र साहस त्यतिबेलै देखेको बताउनुभएको छ।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पुर्जालाई हिमाल जित्ने मानिसमात्र नभई सपना जगाउने व्यक्तिका रूपमा स्मरण गर्नुभएको छ। उहाँका अनुसार पुर्जाको लक्ष्य व्यक्तिगत कीर्तिमानमा मात्र सीमित थिएन। सुरक्षित र व्यवस्थित पर्वतारोहण संस्कृति निर्माण, नेपाली गाइड तथा पर्वतारोहीलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने र नेपालको साहसिक पर्यटनलाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने अभियानमा उहाँ निरन्तर सक्रिय हुनुहुन्थ्यो।
पुर्जाको निधनपछि विश्वभरका पर्वतारोही, साहसिक खेलकुदका अभियन्ता, पर्यटनकर्मी तथा समर्थकले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उहाँको जीवन, विश्व कीर्तिमान र पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदानलाई प्राथमिकताका साथ स्मरण गरेका छन्।
विशेषगरी आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल छ महिना छ दिनमा आरोहण गरेर कायम गर्नुभएको विश्व कीर्तिमानलाई आधुनिक पर्वतारोहण इतिहासकै असाधारण उपलब्धिमध्ये एकका रूपमा लिइन्छ। सन् २०१९ मा ‘प्रोजेक्ट पसिबल’ अभियानमार्फत पुर्जाले उक्त कीर्तिमान कायम गर्नुभएको थियो।
निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय आरोही टोली पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा करिब ६ हजार ७ सय मिटरको उचाइमा पुगेपछि हिमपहिरोमा परेको थियो। टोलीमा छ नेपाली र चार विदेशी आरोही सहभागी थिए। दुर्घटनापछि पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोन, स्थानीय उद्धार टोली तथा के–२ क्षेत्रमा रहेका अनुभवी आरोही परिचालन गरिएका थिए।
प्रतिनिधिसभा सदस्य तथा अनुभवी आरोही मिङ्मा डेभिड शेर्पासमेत खोजी अभियानमा सहभागी हुनुभएको थियो। व्यापक खोजीपछि निम्स दाइसहित सबै आरोहीको निधन भएको पुष्टि भएको हो। सन् १९८३ जुलाई २५ मा म्याग्दीको दाना गाउँमा जन्मिनुभएका निर्मल पुर्जाको बाल्यकाल चितवनमा बितेको थियो। बेलायती गोर्खा सैनिकका रूपमा सेवा गर्नुभएका उहाँ बेलायती रोयल नेभीको विशेष जलसेनामा छनोट हुने पहिलो नेपाली बन्नुभएको थियो।
पुर्जाले हिमाल आरोहणलाई व्यक्तिगत सफलतामा मात्र सीमित नराखी नेपाल, नेपाली पर्वतारोही र साहसिक पर्यटनको विश्वव्यापी प्रवर्द्धनका लागि अभियानकै रूपमा अघि बढाउनुभएको थियो।उहाँको साहस, नेतृत्व, अनुशासन र असम्भवलाई सम्भव बनाउने आत्मविश्वासले नेपाली पर्वतारोहणलाई विश्वमाझ थप चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
निम्स दाइ भौतिक रूपमा अब हामीमाझ नरहनुभए पनि उहाँले छाडेर जानुभएको योगदान नेपाली समाज र विश्व पर्वतारोहण समुदायका लागि लामो समयसम्म प्रेरणाको स्रोत बन्नेछ। ब्रोड पिक दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण आरोहीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

