असदलाई मृत्युदण्डको फैसला, युद्ध अपराधमा पहिलो अदालती कारबाही



एजेन्सी,साउन २६ । सिरियाका अपदस्थ राष्ट्रपति बसर अल–असदलाई सिरियाली अदालतले युद्ध अपराध र मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।

बिबीसीका अनुसार अदालतले असदको अनुपस्थितिमै फैसला सुनाएको हो। सन् २०२४ को डिसेम्बरमा असद शासन पतन भएपछि उनी परिवारसहित सिरियाबाट भागेर रुसको राजधानी मस्को पुगेका थिए।

यो फैसला असदविरुद्ध भएको पहिलो अदालती फैसला हो।गृहयुद्धका क्रममा भएका गम्भीर अपराधमा उनलाई जिम्मेवार ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।

असदका काका तथा दक्षिणी सिरियाको दरा प्रान्तमा राजनीतिक सुरक्षाका पूर्वप्रमुख आतिफ नाजिबलाई पनि अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। नाजिबविरुद्ध अदालतमा मुद्दा चलाइएको थियो र फैसला सुनाउँदा उनी अदालतको कठघरामा उपस्थित थिए।

दरा शहरलाई असद शासनविरुद्ध सन् २०११ मा सुरु भएको विद्रोहको उद्गमस्थल मानिन्छ। सरकारविरोधी भित्ते लेखेको आरोपमा केही किशोरलाई पक्राउ गरी हिरासतमा यातना दिइएको घटनापछि त्यहाँ प्रदर्शन सुरु भएको थियो। सुरक्षा बलले प्रदर्शनमाथि गरेको हिंसात्मक दमनपछि विरोध देशभर फैलिएको थियो। पछि यही आन्दोलन गृहयुद्धमा परिणत भएको थियो। लामो समय चलेको युद्धमा लाखौँ मानिसको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्