डा. राजेन्द्रप्रसाद विमलको निधनमा जनकपुरधामका शैक्षिक संस्था बन्द
जनकपुरधाम,साउन २७ — वरिष्ठ साहित्यकार एवं भाषाविद् डा. राजेन्द्रप्रसाद विमलको निधनको शोकमा जनकपुरधाम उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था आज बन्द गरिएका छन्।
उपमहानगरपालिकाले शोक बिदा दिने निर्णय गरेअनुसार नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहेका हुन्। नगरप्रमुख मनोजकुमार साहले हिजो शोक सन्देश जारी गर्दै स्वर्गीय डा. विमलको सम्मानमा एक दिन नगरभित्रका सबै विद्यालय बन्द गर्न आह्वान गर्नुभएको थियो।
वरिष्ठ साहित्यकार, शिक्षाविद् तथा पूर्वप्राध्यापक डा. विमलको उपचारका क्रममा हिजो बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा ७९ वर्षको उमेरमा निधन भएको थियो। नेपाल सरकारले उहाँको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेपछि प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो।
नेपाली, मैथिली, हिन्दी तथा अङ्ग्रेजी भाषा र साहित्यका प्रकाण्ड विद्वान् डा. विमलको निधनले जनकपुरधामसहित मधेस क्षेत्र र समग्र नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको छ। उहाँको निधनसँगै देशले एक दिग्गज साहित्यकार तथा भाषाविद् गुमाएको छ।

