बडीमालिकामा सञ्चार सेवा विस्तारका लागि हेलिकप्टरबाट उपकरण ढुवानी



काठमाडौँ,साउन २७ । बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ।

भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पुर्‍याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सामग्री बडीमालिका क्षेत्रमा पुर्‍याइएको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि नेपाल टेलिकमले सेवा विस्तारको काम अघि बढाएको हो। मन्त्री तिमिल्सिनाले यही साउन ८ गते बडीमालिकामा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन टेलिकमलाई निर्देशन दिनुभएको थियो।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा ढिलाइ भएको हो। साउन १८ गतेदेखि नै सामग्री पुर्‍याउने प्रयास गरिए पनि मौसम अनुकूल नभएका कारण उडान हुन सकेको थिएन।

मंगलबार सामग्री तोकिएको स्थानमा पुर्‍याइए पनि त्यहाँबाट जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण तथा अन्य सामग्री जनशक्तिमार्फत बोकाएर लैजानुपर्ने अवस्था रहेको शर्माले बताउनुभयो। उच्च हिमाली क्षेत्रमा सामग्री ढुवानीसँगै प्राविधिक जनशक्ति व्यवस्थापनसमेत चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ।

टेलिकमका अनुसार सामग्री जडानस्थलमा पुगेपछि आवश्यक प्राविधिक काम पूरा गरी करिब पाँच दिनभित्र सेवा सञ्चालनमा ल्याउन सकिनेछ। जडानका लागि बडीमालिका र त्रिवेणी नगरपालिकासँग आवश्यक समन्वय भइरहेको छ।

समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको बडीमालिका क्षेत्रमा धार्मिक तथा पर्यटकीय गतिविधि बढ्दै गए पनि भरपर्दो सञ्चार सेवा उपलब्ध थिएन। सञ्चार सेवाको अभावमा स्थानीय बासिन्दा, तीर्थयात्री तथा पर्यटकलाई सम्पर्क र सूचना आदानप्रदानमा समस्या हुँदै आएको थियो।
नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा प्रारम्भिक चरणमा चौथो पुस्ताको मोबाइल सेवा सञ्चालन गर्ने तयारी गरेको छ। यससँगै सगरमाथा आधार शिविर क्षेत्रमा पनि चौथो पुस्ताको सेवा विस्तारका लागि अध्ययन भइरहेको टेलिकमले जनाएको छ।
टेलिकमले यसअघि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान, ठूलीभेरी नगरपालिका–१ दुनै तथा ताप्लेजुङको ओलाङचुङगोलालगायत उच्च हिमाली क्षेत्रमा चौथो पुस्ताको सेवा विस्तार गरिसकेको छ।
सरकारले दुर्गम तथा ग्रामीण क्षेत्रमा सञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ। देशभर सञ्चार सेवा सुधारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ। नेपाल टेलिकमले चालु आर्थिक वर्षमा ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तार, क्षमता वृद्धि र गुणस्तर सुधारका लागि छ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्