ग्यास अभावबारे सरकारको ध्यानाकर्षण, तत्काल समस्या समाधान गर्न राष्ट्रियसभा सांसदको माग



काठमाडौँ,साउन २७ । राष्ट्रियसभाका सांसदहरूले देशभर खाना पकाउने ग्यासको अभाव हुँदा नागरिकले घण्टौँ लाइन बस्नुपरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरूले ग्यास नपाउँदा नागरिक भोकै बस्नुपर्ने अवस्था आएको भन्दै समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन्। सरकारले ग्यासको अभाव नरहेको दाबी गरे पनि सर्वसाधारणले घण्टौँ लाइन बस्दा समेत ग्यास पाउन नसकेको उनीहरूको भनाइ थियो।

सांसदहरूले नागरिकले कहिलेसम्म भोकै बस्नुपर्ने हो भन्दै समस्या समाधानका लागि सरकारलाई आवश्यक रुलिङ गर्न राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराए।

बैठकमा दलित समुदायका केही व्यक्ति ‘कोठा खाली गर’ भन्ने विषयलाई लिएर माइतीघरमा धर्नामा बसेको विषयमा समेत सरकारको ध्यानाकर्षण गराइएको थियो। उनीहरूले समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरे।

त्यसैगरी सुनसरीको देवानगञ्जमा भएको घटनालाई गम्भीर रूपमा लिएर न्यायिक समितिमार्फत निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सांसदहरूले माग गरे। कुनै पनि जाति वा धर्मका नाममा हिंसा हुन नदिने गरी सम्बन्धित पक्षबीचको समस्या समाधान गर्न पनि उनीहरूले आग्रह गरे।

सिरहाको गोलबजारमा भएको आगजनीबाट ठूलो आर्थिक क्षति भएको विषयमा समेत सांसदहरूले सरकारको ध्यानाकर्षण गराए।आगजनीबाट जलेका घरको उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा नागरिकको आस्थाको धरोहरमाथि हुने आक्रमणका घटना पुनः नदोहोरिने सुनिश्चितता गर्न उनीहरूले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्