दुप्चेश्वरमा भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापनबारे अन्तरक्रिया



नुवाकोट,साउन २८ । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या स्थायी रूपमा समाधान गर्न सामूहिक सहकार्य आवश्यक रहेकोमा जोड दिँदै नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा जग्गा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया गरिएको छ।

भूमि समस्या समाधान समिति नुवाकोटको आयोजना तथा दुप्चेश्वर गाउँपालिकाको समन्वयमा समुन्द्रटारमा आयोजित अन्तरक्रियामा भूमि समस्या पहिचान गरी समाधानका लागि सबै पक्षको उत्तिकै सहयोग आवश्यक रहेको बताइएको हो।

कार्यक्रममा सहभागीहरूले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको वास्तविक पहिचानका लागि विशेष कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। प्रारम्भिक छलफलले समस्या समाधानका लागि सकारात्मक निष्कर्ष निकाल्न सहयोग पुगेको सहभागीहरूको भनाइ छ।

कार्यक्रममा दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, भूमि समस्या समाधान समिति नुवाकोटका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, गाउँपालिकाका जनप्रतिनिधि, समितिका सदस्य, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सम्बन्धित सरोकारवालाको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्