सिमेन्टमा जस्तै अन्य खनिजमा पनि सफलता हासिल गर्नुपर्छ : सांसद अधिकारी



काठमाडौँ,साउन २८ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातको सम्भावनासम्म पुगिसकेको अवस्थामा फलाम, तामा, डोलोमाइटलगायत अन्य खनिजमा भने अपेक्षित सफलता हासिल हुन नसकेको संघीय संसद्को अर्थ समितिकी सांसद लिमा अधिकारीले बताउनुभएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलमा सांसद अधिकारीले नेपालमा ६० भन्दा बढी प्रकारका खनिज पहिचान भइसकेको र खनिज स्रोत भएका एक हजारभन्दा बढी स्थानसमेत पहिचान भइसकेको जानकारी दिनुभयो।

यति ठूलो सम्भावना हुँदाहुँदै पनि खानी क्षेत्रको कुल अर्थतन्त्रमा योगदान भने शून्य दशमलव पाँच प्रतिशतभन्दा माथि उठ्न नसकेको उहाँको भनाइ छ। खनिज स्रोतको अभाव नभई नीतिगत जटिलता, अनुमति प्रक्रियामा हुने ढिलाइ, धेरै सरकारी निकायबाट स्वीकृति लिनुपर्ने अवस्था र आवश्यक पूर्वाधारको कमीका कारण खनिज क्षेत्र अपेक्षित रूपमा अघि बढ्न नसकेको उहाँले बताउनुभयो।

सिमेन्ट उद्योगले भने स्पष्ट नीतिगत वातावरणका कारण आयातमा निर्भर अवस्थाबाट आत्मनिर्भर उत्पादन हुँदै निर्यातको सम्भावनासम्म पुग्ने बाटो देखाएको अधिकारीको भनाइ छ। उहाँले सिमेन्ट क्षेत्रमा भएको सफलतालाई अन्य खनिजमा पनि दोहोर्याउनुपर्नेमा जोड दिँदै नयाँ खानीसम्बन्धी विधेयकले खनिज क्षेत्रको विकासका लागि बाटो खोल्ने वा झन् साँघुरो बनाउने भन्ने प्रश्न उठाउनुभयो।

सांसद अधिकारीले फलाम, तामा, डोलोमाइटलगायत खनिजको उत्खनन तथा प्रशोधनमा निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक पूर्वाधारमा सरकारले कस्तो लगानीलाई प्राथमिकता दिनुपर्ने हो भन्नेबारे आयोगको धारणा माग्नुभयो। ऊर्जा क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले अन्य क्षेत्रमा पनि त्यस्तै सफलता हासिल गर्न आवश्यक नीति र पूर्वाधार पहिचान गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्