विदेशी नागरिकको निगरानी र निष्कासनमा कडाइ
काठमाडौँ, साउन २८ । सरकारले नेपालमा बस्ने विदेशी नागरिकको गतिविधिमाथि निगरानी बढाउँदै नियमविपरीत काम गर्नेलाई निष्कासन गर्ने नीति लिएको छ। परराष्ट्र, गृह मन्त्रालय र अध्यागमन विभागले विदेशी नागरिकको आवागमन तथा गतिविधि व्यवस्थापनका लागि एकीकृत रूपमा काम गरिरहेका छन्।
अध्यागमन विभागका अनुसार गत आर्थिक वर्षमा शङ्कास्पद गतिविधिका कारण ७८१ विदेशीलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ। भिसा उल्लङ्घन, जाली राहदानी तथा भिसा प्रयोग, निष्कासन आदेश उल्लङ्घन र अन्य कसुरमा १४३ विदेशीलाई कारबाहीसहित निष्कासन गरिएको छ।
गैरकानुनी रूपमा नेपाल बस्ने विदेशीमध्ये सन् २०२५ मा ५२३ र सन् २०२६ मा हालसम्म २१७ जना निष्कासनमा परेका छन्। पाँच वर्षमा नेपालबाट दुई हजार २६७ विदेशी निष्कासित भएकामा सबैभन्दा बढी चिनियाँ नागरिक ६९५ जना छन्। त्यसपछि अमेरिकी १९१ र बङ्गलादेशी १४५ जना छन्।
विदेशी नागरिकको आवागमन व्यवस्थापन सूचना प्रणालीमा करिब एक हजार छ सय होटल तथा पर्यटन एजेन्सीसहितका संस्था आबद्ध छन्। विभागले विदेशीको आगमन, बसाइ र गतिविधिमाथि अनुगमन थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ।

