मातृभाषा पत्रकारिता भाषिक अधिकार र समावेशी लोकतन्त्रसँग जोडिएको छ : डंगोल



काठमाडौँ, साउन २७ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिता भाषिक तथा सांस्कृतिक अधिकारसँगै समावेशी लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताउनुभएको छ।

आदिवासी जनजाति पत्रकार महासङ्घले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता दिवस–२०२६ को समापन समारोहमा उहाँले मातृभाषा पत्रकारिता कुनै एक समुदायको मात्र विषय नभई अभिव्यक्ति स्वतन्त्रता र समावेशी लोकतन्त्रसँग जोडिएको बताउनुभयो।

उहाँले मातृभाषामा खोजमूलक, तथ्यपरक, सत्य, समावेशी र जनउत्तरदायी पत्रकारितालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो। महानगरपालिकाले स्थानीय भाषाको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय पाठ्यक्रमसमेत लागू गरेको उहाँले जानकारी दिनुभयो।

प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत झविन्द्र भुषालले मातृभाषा पत्रकारिताको प्रवर्द्धनका लागि नीतिगत व्यवस्था गर्दै मातृभाषी पत्रकारलाई प्रोत्साहन र पुरस्कार प्रदान गर्दै आएको बताउनुभयो।

फोनिजका अध्यक्ष लक्की चौधरीले मातृभाषी पत्रकार स्थानीय समुदाय र सरकारबीच सूचना आदानप्रदान गर्ने महत्वपूर्ण माध्यम भएकाले राज्यले उनीहरूका लागि थप नीतिगत पहल गर्नुपर्ने बताउनुभयो।

तीन दिनसम्म चलेको सम्मेलनले मातृभाषा पत्रकारिताको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि आठबुँदे प्रस्तावित घोषणापत्र जारी गरेको छ। सम्मेलनमा भारत, श्रीलङ्का, साउदी अरब र भुटानलगायतका देशका पत्रकार प्रतिनिधिको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्