प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला



प्युठान,साउन २८ । प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारबाट पाँच जनाको बेवारिसे शव फेला परेको छ।

बिहीबार बिहान करिब ७ः३० बजे स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका माडी र लुङ्ग्री खोलाको किनारमा नाम, थर र वतन नखुलेका पाँच जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२–१३ वर्षका बालकको शव फेला परेको छ। त्यस्तै, वडा नम्बर ३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

वडा नम्बर ४ गोठीबाङस्थित माडी खोलाको किनारमा एक महिलाको शव फेला परेको छ। वडा नम्बर ५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा घुँडादेखि तल बायाँ खुट्टा नभएको महिलाको शव तथा सोही स्थानमा अर्को महिलाको शव पनि फेला परेको छ।

फेला परेका शवहरूको पहिचान हुन सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा शवहरूको पहिचानको प्रक्रिया अघि बढाएको जनाएको छ।

परिवारका कुनै सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ। त्यसका लागि ९८५७८३७०४९ र ९८५७८१५५५५ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्