मोटरसाइकल दुर्घटनामा पञ्चकन्या–४ का वडाध्यक्ष तामाङसहित तीन जना घाइते
नुवाकोट,साउन २८ । नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा पञ्चकन्या गाउँपालिका–४ का वडाध्यक्ष सञ्च तामाङसहित तीन जना घाइते भएका छन्।
पञ्चकन्याबाट काठमाडौँतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल बागमती प्रदेश ०२–००१ ब ८३५३ र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ प १५६५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बिहीबार बिहान ११:१५ बजे दुर्घटना भएको हो।
दुर्घटनामा वडाध्यक्ष तामाङ, उहाँकी चार वर्षीया नातिनी शर्मिला तामाङ र शिवपुरी गाउँपालिका–५ कुखुरेका सरोज थापा घाइते भएका छन्। वडाध्यक्ष तामाङको खुट्टा दुई ठाउँमा भाँचिनुका साथै हातमा समेत चोट लागेको बताइएको छ।
घाइते तीनै जनाको शिवपुरी आधारभूत अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको जनाइएको छ।

