रोल्पामा पहिरोमा पुरिएर चार जनाको मृत्यु, आठ जना अझै बेपत्ता



रोल्पा,साउन २८ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने आठ जना अझै बेपत्ता छन्।

बुधबार राति अविरल वर्षापछि गाउँमाथिको जङ्गलको खोल्साबाट आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब छ वटा घर तथा गोठ पुरिएका हुन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठका अनुसार पहिरोमा पुरिएर १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७१ वर्षीया मनरखी पुन मगर र ७५ वर्षीय डलरबहादुर पुन मगरको मृत्यु भएको छ। उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। प्रहरी तथा स्थानीयवासीको सहयोगमा उद्धार गरिएका उनीहरूलाई उपचारका लागि सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ।

पहिरोमा परी ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर बेपत्ता रहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीसहितको उद्धार टोली बिहीबार बिहान घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमान्डमा प्रहरी टोली तथा विपद् उद्धार सामग्रीसहितको टोली परिचालन गरिएको छ।

त्यस्तै, नेपाली सेनाको श्री सूर्यदल गण रोल्पाबाट प्रमुख सेनानी दिपेश खड्काको कमान्डमा टोली, सशस्त्र प्रहरी आश्रित गुल्म रोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली र इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको कमान्डमा टोली घटनास्थलमा खटिएका छन्।

पहिरोमा थप मानिससमेत पुरिएको हुनसक्ने आशङ्का रहेकाले सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्