रोल्पा पहिरोमा मृत्यु भएका १० जनाकै पहिचान खुल्यो



रोल्पा,साउन २९ । रोल्पाको थबाङ गाउँपालिका–५ उवामा गएको पहिरोमा परी मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ।

गाउँमै पुरिएका तथा पहिरोसँगै आएको लेदोसहितको भेलले बगाएर प्युठानको माडी खोलाका विभिन्न स्थानमा फेला परेका शवको समेत पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।

प्युठानमा फेला परेका शवमध्ये थबाङ–५ की अन्दाजी ३८ वर्षीया जुनकुमारी पुन मगर, पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६६ वर्षीया मनि पुन मगर र ३४ वर्षीय महेन्द्र घर्तीको पहिचान भएको प्रहरीले जनाएको छ।

पहिरोमा परी हालसम्म १० जनाको मृत्यु भएको छ भने दुई जना घाइते र तीन जना अझै बेपत्ता छन्। घटनास्थलमा बिहीबार बिहानैदेखि खटिएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीको कमान्डमा रहेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहितको सुरक्षा टोली साँझ सदरमुकाम लिबाङ फर्किएको थियोे।

प्रतिक्रिया दिनुहोस्