ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति पर्यटनमन्त्री पौडेलद्वारा श्रद्धाञ्जली
काठमाडौं,साउन २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेलले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
गत साउन १४ गते हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको पार्थिव शरीरमा बिहीबार माल्यार्पण गर्दै मन्त्री पौडेलले श्रद्धाञ्जली व्यक्त गर्नुभएको नेपाल पर्वतारोहण सङ्घका महासचिव राजेन्द्र लामाले जानकारी दिनुभयो।
मन्त्री पौडेलले आरोहीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको थियो। पाकिस्तानबाट साउन २६ गते नेपाल ल्याइएका शवमध्ये दोलखाका ग्यालु शेर्पा र सङ्खुवासभाका निमा शेर्पाको शव बौद्धस्थित शेर्पा गुम्बामा राखेर तथा दोलखाको रोल्वालिङका किली पेम्बा शेर्पाको शव उहाँकै घरमा राखेर बौद्ध परम्पराअनुसार पूजा गरिएको थियो।
ग्यालु शेर्पा र निमा शेर्पाको आजै अन्त्येष्टि गरिएको छ भने किली पेम्बा शेर्पाको आज शुक्रबार अन्त्येष्टि गरिने महासचिव लामाले बताउनुभयो। हिमपहिरोमा ज्यान गुमाएका गोरखाका पुरबहादुर गुरुङ ‘युक्ता’को भने साउन २१ गते नै अन्त्येष्टि गरिएको थियो।सोही हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को शव भने परिवार बेलायतमा रहेकाले बेलायत लगिएको छ।
दुर्घटनास्थलबाट अझै एक नेपाली आरोहीको शव ल्याउन बाँकी रहेको छ। उक्त हिमपहिरोमा ६ नेपालीसहित १० जना आरोहीले ज्यान गुमाएका थिए।

