थवाङ पहिरोमा बेपत्ताको खोजी र प्रभावितलाई राहत दिन रास्वपाको आग्रह
काठमाडौँ,साउन २९ । राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाको थवाङ गाउँपालिका–५ कोतलाबाङमा गएको भीषण पहिरोमा बेपत्ता भएकाहरूको प्रभावकारी खोजी, घाइतेको निःशुल्क उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा बुधबार राति गएको पहिरोमा परी सात जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरिएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा पर्याप्त ध्यान नदिँदा बर्सेनी नागरिकले अकालमा ज्यान गुमाउनुपरेको उल्लेख गर्दै रास्वपाले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारलाई प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न तथा जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेको छ ।
विपद्का बेला सीमित स्रोतसाधनका बाबजुद उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीय नागरिकको प्रयासको प्रशंसा गर्दै रास्वपाले प्रभावित क्षेत्रमा उद्धार, निःशुल्क उपचार र राहतको एकीकृत व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
अविरल वर्षाका कारण देशभर जनजीवन तथा सडक सञ्जाल प्रभावित भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदी किनार तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन पनि सर्वसाधारणलाई अपिल गरिएको छ ।
विपद्पछिको उद्धार तथा राहत कार्यमा राज्यका संयन्त्रलाई सहयोग गर्न रास्वपाले आफ्ना पार्टी पङ्क्तिलाई चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ ।


