भारतमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना, तीन जनाको मृत्यु
रौतहट,साउन २९ । रौतहटबाट भारतको देवघरस्थित बाबा वैद्यनाथ धामको दर्शन तथा पूजा गरेर राजगीरतर्फ जाँदै गरेको नेपाली तीर्थयात्री सवार बस भारतको झारखण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ३४ जनाभन्दा बढी घाइते भएका छन्।
शुक्रबार बिहान झारखण्डको कोडरमा जिल्लास्थित सतगावाँ थाना क्षेत्रको पोखरडीहा मोडनजिकै सडक किनारमा रोकिराखेको ट्रकको पछाडि बस ठोक्किएको हो। दुर्घटनामा १० वर्षीय शिवम् कुमार, ६० वर्षीया सुन्दर बाला र ६० वर्षीय नवल किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते सबैलाई उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि सदर अस्पताल पठाइएको भारतीय प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस करिब चार दिनअघि रौतहटबाट भारतको देवघरका लागि प्रस्थान गरेको थियो। बाबा वैद्यनाथ धामको दर्शन सकेर शुक्रबार बिहान बिहारको राजगीरतर्फ जाने क्रममा पोखरडीहा मोडनजिक पुग्दा चालकलाई निद्रा लागेपछि बस अनियन्त्रित भएर रोकिराखेको ट्रकमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ठक्करपछि बसको अगाडिको भागमा ठूलो क्षति पुगेको थियो भने केही यात्रु बसभित्रै च्यापिएका थिए। दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सतगावाँ प्रहरीले उद्धार सुरु गरेका थिए। घन्टौँको प्रयासपछि च्यापिएका यात्रुलाई बाहिर निकालिएको थियो।
सतगावाँ थाना प्रमुख बब्लु सिंहका अनुसार चालकले रातभर सवारी चलाएका कारण निद्रा लाग्दा दुर्घटना भएको देखिएको छ। बसमा करिब ४५ जना तीर्थयात्री सवार रहेको बताइएको छ।

