मोटरसाइकलसहित खोलाले युवक बगायो, एक जना सकुशल
स्याङ्जा,साउन २९ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाले मोटरसाइकलसहित एक युवकलाई बगाउँदा उनी बेपत्ता भएका छन्। मोटरसाइकलमा सवार अर्का युवक भने सकुशल उद्धार भएका छन्।
बुधबार राति मोटरसाइकलमा सवार दुई जनालाई खोलाले बगाएको थियो। मोटरसाइकल चालक पुतलीबजार नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगर खोलाले बगाएपछि हालसम्म सम्पर्कविहीन छन्।
मोटरसाइकलको पछाडि सवार पुतलीबजार नगरपालिका–३ पुतलीखेतका १७ वर्षीय समिप शाही भने सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ग ११ प ८१८३ नम्बरको मोटरसाइकल बिहीबार बिहान करिब ६ः४५ बजे घटनास्थलबाट करिब एक सय मिटर तल खोलामा फेला परेको थियो। प्रहरीले मोटरसाइकल निकालिसकेको
भए पनि चालक मगरको अवस्था अझै अज्ञात छ। बेपत्ता मगरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

