५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद
हुम्ला,साउन २९ । हुम्लामा प्रहरीले ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका–२ नावलथाङबाट लुकाइछिपाइ राखिएको अवस्थामा ५१ लाख ९३ हजार ६ सय रुपैयाँ बराबरको मदिरा बरामद गरिएको हो।
प्रहरीले ५ सय ९४ कार्टुनमा रहेको ७ हजार १ सय २८ बोतल अवैध चिनियाँ मदिरा तथा १ सय ९४ कार्टुनमा रहेको ४ हजार ६ सय ५६ बोतल बोर्डवाइजर बियर बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार बरामद मदिरा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। उनका अनुसार चिनियाँ मदिराको प्रतिबोतल अनुमानित बजार मूल्य ५ सय रुपैयाँ र बोर्डवाइजर बियरको ३ सय ५० रुपैयाँ रहेको छ।
प्रहरी नायब उपरीक्षक खड्काका अनुसार नाम्खा गाउँपालिका–६ स्थित लिमि लाप्चा नाकाबाट ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा भित्रिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बरामद गरिएको मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिनुभयो।

