कांग्रेसलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको शशाङ्क कोइरालाको भनाइ
काठमाडौं,साउन २९। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीलाई एकजुट बनाउन संस्थापनइतर पक्षको राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभएको छ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा आजदेखि सुरु भएको तीनदिने भेलाको उद्घाटन गर्दै डा. कोइरालाले कांग्रेस एकढिक्का भए कसैले पनि पराजित गर्न नसक्ने बताउनुभयो।पार्टीलाई एकजुट बनाउनु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै उहाँले यही भेलाको मुख्य उद्देश्य पार्टीभित्र एकता कायम गर्नु रहेको स्पष्ट पार्नुभयो।
बिहीबार पाँच महिनापछि स्वास्थ्योपचारपछि स्वदेश फर्किनुभएका कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भेलामा उपस्थित हुनुभएकामा डा. कोइरालाले खुसी व्यक्त गर्नुभयो। उहाँले देउवासँग भारतको बनारसमा पहिलोपटक भेट भएको र सँगै सिनेमा हेरेको प्रसङ्गसमेत स्मरण गर्नुभयो। डा. कोइरालाले निवर्तमान सभापति देउवा नै आफूहरूको नेता भएको उल्लेख गर्दै उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्ने धारणा व्यक्त गर्नुभयो।
भेलामा सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार आज उद्घाटन भएको भेलाको शनिबार र आइतबार बन्दसत्र सञ्चालन हुनेछ।

