किन जान्छ नुवाकोटमा पटकपटक बिजुलीबत्ती?
• भरतसन्तोषी लामा
नुवाकोट,साउन २९ — नुवाकोटका विभिन्न क्षेत्रमा बिहीबार दिउँसोदेखि अवरुद्ध विद्युत सेवा झन्डै १८ घण्टापछि शुक्रबार पुनः सञ्चालनमा आयो। चौघडा सबस्टेसनको ब्रेकरमा प्राविधिक समस्या आएपछि बिहीबार दिउँसो ४ बजेदेखि विद्युत आपूर्ति बन्द भएको थियो।
स्थानीय प्राविधिकले रातभर समस्या समाधानको प्रयास गरे पनि तत्काल सुधार हुन नसकेपछि काठमाडौँबाट थप प्राविधिक टोली बोलाउनुपरेको थियो। शुक्रबार बिहान ११ बजेदेखि काठमाडौँबाट आएको टोलीले काम थालेपछि देविघाट जलविद्युत केन्द्रको लाइन कटाएर त्रिशूली जलविद्युत केन्द्रबाट विद्युत आपूर्ति जोडिएको छहरे फ्युज शाखाका लालबहादुर तामाङले जानकारी दिनुभयो।
ब्रेकरमा आएको समस्याले लिखु, पञ्चकन्या, तादी, दुप्चेश्वर र शिवपुरीलगायतका गाउँपालिकाका विभिन्न क्षेत्रका हजारौं नागरिक प्रभावित भए। लामो समय विद्युत नहुँदा घरायसी कामदेखि व्यापार, व्यवसाय र अन्य सेवासमेत प्रभावित बनेको हो।
यो घटना नुवाकोटमा विद्युत अवरोधको समस्या नयाँ भने होइन । प्राविधिक समस्या, मर्मतसम्भार तथा विद्युत लाइन आसपासका रुखका हाँगा काट्ने कामका कारण जिल्लाका विभिन्न क्षेत्रमा पटकपटक विद्युत आपूर्ति रोकिने गरेको छ।
सामान्य प्राविधिक समस्या समाधानमै घण्टौँ लाग्दा उपभोक्ताले लामो समय विद्युतविहीन हुनुपर्ने अवस्था छ। अर्कोतर्फ, पूर्वसूचना विना गरिने मर्मतका कारण हुने विद्युत कटौतीले पनि सर्वसाधारणको दैनिक जनजीवन प्रभावित पार्दै आएको छ।
बिहीबारको अवरोधले फेरि एउटै प्रश्न उठाएको छ—नुवाकोटमा सामान्य प्राविधिक समस्या समाधान गर्न किन यति लामो समय लाग्छ? विद्युत वितरण प्रणालीको नियमित मर्मत, आवश्यक उपकरणको उपलब्धता र प्राविधिक जनशक्तिको व्यवस्थापनमा सुधार गर्न नसकिए यस्ता समस्या दोहोरिइरहने जोखिम बढेको छ।
यसैबीच, नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले शनिबार पनि जिल्लाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। समुन्द्रटार सबस्टेसनबाट सञ्चालित समुन्द्रटार फिडरअन्तर्गत दुप्चेश्वर गाउँपालिका–१ का घ्याङफेदी, कुतुडुखोला, नेगी, घ्यावरचौर, सिसिपु, तालुक र कसेरी क्षेत्रमा बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मर्मत तथा बुस कटिङका लागि विद्युत सेवा बन्द गरिनेछ।
त्यस्तै, रातमाटे सबस्टेसनबाट सञ्चालित फिडर नम्बर १ र २ अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ। फिडर नम्बर १ अन्तर्गत रातमाटे, कोल्पुटार, कोलडाँडा, जोरचौतारी र खानीगाउँ तथा फिडर नम्बर २ अन्तर्गत महादेवफाँट, दर्शनटार, बुद्धसिंहघाट, बुद्धसिंह, सिम्ले र झञ्याङखर्क क्षेत्र प्रभावित हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार तोकिएको समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा विद्युत सेवा तत्काल सञ्चालन गरिनेछ। तर, पटकपटकको अवरोध र लामो समयसम्म विद्युत आपूर्ति बन्द हुने अवस्थाले भने नुवाकोटको विद्युत वितरण प्रणालीको नियमित मर्मत र पूर्वतयारीप्रति गम्भीर प्रश्न उठाएको छ।

