नुवाकोटमा पटकपटक बिजुली जाने समस्या : छहरे बजारका युवाले गरे सबस्टेसन घेराउ
• भरतसन्तोषी लामा
नुवाकोट, साउन ३० — नुवाकोटमा पटकपटक विद्युत् सेवा अवरुद्ध हुने समस्या बढ्दै गएपछि स्थानीय युवाहरूले नेपाल विद्युत् प्राधिकरणको चौघडा सबस्टेसन घेराउ गर्दै सेवा प्रवाहमा सुधार गर्न माग गरेका छन्।
छहरे बजारका स्थानीय युवा प्रकाश डङ्गोल, नवराज थापा, रोशन भण्डारीलगायतले विद्युत् आउने–जाने क्रम बढेको भन्दै उपभोक्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्राधिकरणलाई खबरदारी गरेका हुन्। प्राधिकरणको चौघडा सबस्टेसन र मातहतका कर्मचारीको लापरबाहीका कारण पटकपटक विद्युत् अवरोध हुने गरेको उनीहरूको आरोप छ।
स्थानीय युवासँगको छलफलपछि विद्युत् लाइन जथाभावी नकाट्ने, कर्मचारीलाई चुस्त राख्ने तथा सेवा प्रवाहमा सुधार गर्ने सहमति भएको बताइएको छ।
तर, स्थानीयको गुनासो केवल बिहीबारको अवरोधसँग मात्र जोडिएको छैन। नुवाकोटमा प्राविधिक समस्या, मर्मतसम्भार तथा विद्युत् लाइन आसपासका रुखका हाँगा काट्ने कामका कारण विभिन्न क्षेत्रमा पटकपटक विद्युत् आपूर्ति बन्द हुँदै आएको छ। सामान्य समस्या समाधानमै घण्टौँ लाग्दा उपभोक्ताले घरायसी कामदेखि व्यापार–व्यवसायसम्म प्रभावित हुने अवस्था भोग्दै आएका छन्।
बिहीबार दिउँसो चौघडा सबस्टेसनको ब्रेकरमा समस्या आएपछि जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो। दिउँसो ४ बजेदेखि बन्द भएको विद्युत् सेवा झन्डै १८ घण्टापछि शुक्रबार मात्र सञ्चालनमा आएको थियोे ।
स्थानीय प्राविधिकले रातभर समस्या समाधानको प्रयास गरे पनि तत्काल सुधार हुन नसकेपछि काठमाडौँबाट थप प्राविधिक टोली बोलाउनुपरेको थियो। शुक्रबार बिहान ११ बजेदेखि काठमाडौँबाट आएको टोलीले काम थालेपछि देविघाट जलविद्युत् केन्द्रको लाइन कटाएर त्रिशूली जलविद्युत् केन्द्रबाट विद्युत् आपूर्ति जोडिएको छहरे फ्युज शाखाका लालबहादुर तामाङले जानकारी दिनुभयो।
ब्रेकरमा आएको समस्याका कारण लिखु, पञ्चकन्या, तादी, दुप्चेश्वर र शिवपुरीलगायत गाउँपालिकाका विभिन्न क्षेत्र प्रभावित भए। लामो समय विद्युत् नहुँदा घरायसी कामसँगै उद्योग, व्यापार, व्यवसाय र अन्य सेवासमेत प्रभावित बने।
यही घटनाले नुवाकोटको विद्युत् वितरण प्रणालीप्रति पुरानै प्रश्नलाई फेरि सतहमा ल्याएको छ—सामान्य प्राविधिक समस्या समाधान गर्न किन यति लामो समय लाग्छ? विद्युत् वितरण प्रणालीको नियमित मर्मत, आवश्यक उपकरणको पर्याप्त व्यवस्था र प्राविधिक जनशक्तिको प्रभावकारी व्यवस्थापन हुन नसके यस्ता समस्या दोहोरिइरहने जोखिम छ।
पूर्वसूचनासहित गरिने मर्मतका कारण हुने अवरोधलाई उपभोक्ताले केही हदसम्म स्वीकार गरे पनि आकस्मिक समस्या पर्दा घण्टौँसम्म विद्युत् नआउने अवस्थाले भने प्राधिकरणको पूर्वतयारीमाथि प्रश्न उठाएको छ।
यसैबीच, नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले आज शनिबार पनि जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ। समुद्रटार सबस्टेसनबाट सञ्चालित समुद्रटार फिडरअन्तर्गत दुप्चेश्वर गाउँपालिका–१ का घ्याङफेदी, कुतुडुखोला, नेगी, घ्यावरचौर, सिसिपु, तालुक र कसेरी क्षेत्रमा बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मर्मत तथा बुस कटिङका लागि विद्युत् सेवा बन्द गरिनेछ।
त्यस्तै, रातमाटे सबस्टेसनबाट सञ्चालित फिडर नम्बर १ र २ अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ। फिडर नम्बर १ अन्तर्गत रातमाटे, कोल्पुटार, कोलडाँडा, जोरचौतारी र खानीगाउँ तथा फिडर नम्बर २ अन्तर्गत महादेवफाँट, दर्शनटार, बुद्धसिंहघाट, बुद्धसिंह, सिम्ले र झञ्याङखर्क क्षेत्र प्रभावित हुनेछन्।
प्राधिकरणका अनुसार तोकिएको समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भए विद्युत् सेवा तत्काल सञ्चालन गरिनेछ।

