नुवाकोटमा बस र विद्युतीय गाडी ठोक्किँएर भीरबाट खस्यो
नुवाकोट, साउन ३० — नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित छहरे–टोखा सडकखण्डमा बस र विद्युतीय गाडी ठोक्किँदा चार जना घाइते भएका छन्।
आज बिहान करिब ८ः२० बजे काभ्रेबाट थानाभञ्ज्याङ- छहरे हुँदै दुप्चेश्वर धामतर्फ जाँदै गरेको विद्युतीय गाडी रोकिराखेको अवस्थामा सोही सडकखण्डमा गुडिरहेको भाडाको बसले ठक्कर दिएको हो।
ठक्करपछि बा.प्र. ०३–००१ ज ११७६ नम्बरको विद्युतीय गाडी र बा.प्र ०८१ ब ००५२ नम्बरको बस सडकबाट करिब ५० मिटर तल भीरमा खसेको जनाइएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेको उद्धार गरि काठमाडौ पठाइएको स्थानीय जीवन गुरुङले बताए ।
विद्युतीय गाडीका चालक धादिङको नीलकण्ठ नगरपालिका–३ बस्ने सुमन राना मगर र बस चालक काभ्रे पाँचखालका सिताराम आचार्य रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। घाइतेहरूको अवस्था, दुर्घटनाको कारण तथा अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

