छहरे-टोखा सडकखण्डमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईजनाको मृत्यु



नुवाकोट,साउन ३० — छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–७ स्थित थानाभञ्ज्याङमा शनिबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

बिहान काभ्रेबाट छहरे–टोखा हुँदै दुप्चेश्वर धामतर्फ जाँदै गरेको बस थानाभञ्ज्याङमा रोकिराखेको अवस्थामा एक्कासि गुडेपछि सडकमा रहेको विद्युतीय गाडीलाई ठक्कर दिएको थियो।

ठक्करपछि बा प्र ०३ ००१ ज ११७६ नम्बरको विद्युतीय गाडी र बा प्र ०८१ ब ०५२ नम्बरको बस सडकबाट करिब ५० मिटर तल भीरमा खसेको थियोे ।

दुर्घटनाका क्रममा बसमा सवार पाँच यात्रु पनि बससँगै भीरबाट खसेका थिए। दुर्घटनामा बनेपा–८ निवासी ५४ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाँडादेवी–२ निवासी ६५ वर्षीया उदयमाया खत्रीको उपचारका क्रममा काठमाडौंस्थित ग्रीनसिटी अस्पतालमा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते सर्लाही लालबन्दी–९ की २५ वर्षीया सुजता पोखरेल, बनेपा–१० की ४२ वर्षीया प्रमिला श्रेष्ठ र दोलखाको मेलुङ–६ का ६० वर्षीय ज्ञानु श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ।

सडकमा रोकिराखेको अवस्थामा रहेको बस एक्कासि गुडेर विद्युतीय गाडीलाई ठक्कर दिएपछि भएको दुर्घटनाले थानाभञ्ज्याङको जोखिमपूर्ण सडकखण्डमा सवारीसाधन रोक्दा अपनाउनुपर्ने सावधानीमाथि समेत प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस्